सरकारले अध्यादेश फिर्ता लिई यथाशीघ्र हिउँदे अधिवेशन बोलाउनुपर्छ : जसपा

समाचार

12/16/2020

काठमाडौं, १ पुस । जनता समाजवादी पार्टी नेपालले सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशीघ्र बोलाउन माग गरेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् ।

सरकारले संसदको हिउँदे अधिवेशन नबोलाई संवैधानिक परिषदको बैठकको गणपूरक संख्या सम्बन्धी व्यवस्था अर्थात संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्दै राष्ट्रपति मार्फत अध्यादेश जारी गरेको छ ।

‘यसले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासन विपरित षड्यन्त्रपूर्वक ढङ्गले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरूलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्म माथि नै प्रहार गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौति दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्दको भूमरीतर्फ धकेल्ने कार्य गरेको जसपाको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस्तो गैर–लोकतान्त्रिक एवम् स्वेच्छाचारी कार्यको घोर भत्र्सना एवम् विरोध गरिनु पर्दछ। सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशिघ्र बोलाउनु पर्दछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ