सरकारले तोकेको मूल्यमा सहकारीले धान किन्ने

समाचार

12/14/2020

बारा, २९ मंसिर । बारामा ५ वटा कृषि सहकारीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएका छन् ।

जिल्लाका विभिन्न स्थानका ५ वटा सहकारीलाई धान खरिद गर्न अनुमति दिनुको साथै आइतबार सम्झौता समेत गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ बाराले जनाएको छ ।

समर्थन मूल्यमा धान खरिद बिक्री परीक्षणकालको समन्वय गर्ने जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएको छ ।

कृषकको हितलाई मध्यनजर गर्दै पाचँ वटा कृषि सहकारी संस्थाले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएका हुन् । पाँच सहकारी मध्ये ४ वटा साना किसान कृषि सहकारी छन् ।

जीतपुर सिमरा उपमहानगरपालिकास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना, जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वासिर्रा, वडा नं १८ मनहर्वा, करैयामाई गाउँपालिका तेतरियास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड र फेटा गाउँपालिका–७ स्थित कटेङ्गनमाई कृषि सहकारी संस्था धान खदिरका लागि सुचीकृत भएका हुन् । सुचीकृत सहकारीले पाँच हजार क्विन्टलसम्म धान खरिद गर्न सक्नेछन् ।

पाँच वटै संस्थाहरुले कृषकहरुसँग धान खरिद गर्ने सम्झौता गरिसकेकोले कृषकलाई पायक पर्ने सहकारीसँग समन्वय गरी धान बिक्री गर्न सक्ने इकाइ प्रमुख डाक्टर सुरेन्द्र यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ