सरकारले भारतबाट औषधि ल्याउँदै

समाचार

4/13/2020

काठमाडौं, १ बैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि भारतले औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै चीनले स्वास्थ्य सामग्री उपलब्ध गराउनेछ ।

नेपाली सेनाले पत्राचार गरेका पाँच मुलुकमध्ये तीन मुलुकबाट मात्र पूर्ण रूपमा जवाफ आएको हो । चीन सरकारले आफ्नो स्वास्थ्य सामग्री र भारतले औषधि खरिद गर्न सकिने जवाफ पत्रमार्फत दिएका छन् । दक्षिण कोरियाले भने कम्पनीको नाम मात्र उल्लेख गरी पत्र पठाएको छ ।

सरकारले नेपाली सेनालाई सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत खरिद गरेर सामान ल्याउने जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारीअनुसार सेनाले चीन, भारत, इजरायल, दक्षिण कोरिया र सिंगापुरलाई कूटनीतिक माध्यममार्फत जीटूजी खरिदका लागि पत्राचार गरेको थियो ।

भारतले केही समयअघि नै अत्यावश्यक औषधिहरू विदेशमा निर्यात नगर्ने निर्णय गरेको थियो तर उसले नेपाललाई औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । पाण्डेका अनुसार भारतमा स्वास्थ्य सामग्री अभाव भए पनि औषधि पठाउन सकिने उल्लेख गरेको छ ।

भारतीय मिडिया एएनआईका अनुसार भारत सरकारले नेपालसहित १३ मुलुकलाई करिब १४ मिलियन हाइड्रोक्सिक्लोरोक्विन ट्याब्लेट दिने निर्णय गरेको छ ।

अन्य मुलुकमा अमेरिका, स्पेन, जर्मनी, बहराइन, ब्राजिल, भुटान, अफगानिस्तान, माल्दिभ्स, बंगलादेश, मोरिसस, डोमिनिक गणतन्त्र र सेसेल्स छन् । हाइड्रोक्सिक्लोरोक्विनबाहेक कुन–कुन औषधि भारतले नेपाललाई उपलब्ध गराउने भन्नेबारे निर्णय भइसकेको छैन ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ