काठमाडौं, ३० जेठ । सरकारविरुद्ध भइरहेको शान्तिपूर्ण जनप्रदर्शनमा दमन भएको भन्दै जनता समाजवादी पार्टी नेपालले भर्त्सना गरेको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी दमनात्मक कार्य बन्द गरी जनताका न्यायोचित आवाजलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको जसपाको निष्कर्ष छ । मुलुकमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगलगायत आर्थिक क्षेत्रमा चरम भ्रष्टाचार, संकट र अनियमितता बढेको जसपाको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ओली सरकारका असफलता विरुद्ध व्यापक जनप्रदर्शनहरु भइरहेका छन् । सरकारले जनताको आवाजलाई सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शन माथि दमन गरेकोमा सो कार्यको घोर भर्त्सना गर्दछ ।’
तपाईको प्रतिक्रिया