सरकार निर्माण वा सहभागी हुने कार्य मधेश आन्दोलनको मर्म र भावनाविपरीत : जसपा अध्यक्ष ठाकुर

समाचार

5/11/2021

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत रहेको बताएका छन् ।

अध्यक्ष ठाकुरले आइतबार राति एक विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्तिथिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको बताएका हुन् ।

‘विगत केही हप्तादेखि मधेशी, आदिवासी, जनजाति, थारु, महिला, दलित, मुस्लिमलगायत सीमान्तकृतहरुको महत्वपूर्ण सवालहरु मुद्दा फिर्ता, बन्दि रिहाई, नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतको विषयमा जनता समाजवादी पार्टी नेपाल र के पी शर्मा ओली नेतृत्वको नेपाल सरकार बीचको वार्ता तथा तदनुसारको कार्य प्रगति सकारात्मक रूपले अगाडी बढिरहेको तथ्य सर्वबिदितै छ ।’ ठाकुरले विज्ञप्तिमा भनेका छन् ।

यस्तो अवस्थामा मुद्दाबाट बिचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको बैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य बिपरित हो, मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकुल हो भन्ने जसपाको ठहर रहेको जिकिर गरेका छन् । त्यस्तो कार्य बाट झन अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चितता तर्फ धकेलिने प्रायः निश्चित रहेको अध्यक्ष ठाकुरको छ ।

त्यसर्थ, एक जिम्मेवार राजनीतिक पार्टीको नाताले जसपा नेपाल मधेशी, आदिवासी, जनजाती, थारु, दलित, महिला, मुस्लिम लगायतका सिमान्तकृत, शोषित, पीडित, उपेक्षित समुदायको एजेण्डा सम्बोधनको निम्ति निरन्तर प्रयासरत, कार्यरत र संघर्षरत रहने उनले प्रतिबद्धता गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ