काठमाडौं, १८ चैत । सरकार र थरुहट संघर्ष समितिबीच सोमबार पहिलो चरणको वार्ता सम्पन्न भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।
वार्तामा थरुहट संघर्ष समितिले टीकापुर घटनालाई आपराधिक घटना नभई राजनीतिक घटनाको रुपमा हेर्न आग्रह गरेको थियो । सरकारले भने यसबारेमा थप अध्ययन गर्नुपर्ने भन्दै समय मागेको संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले बताइन् ।
सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले थरुहट संघर्ष समितिको माग सकारात्मक रहे पनि अदालतमा गइसकेको मुद्दामा निर्णय गर्न गाह्रो हुने बताए ।
अब दोस्रो चरणको वार्ता कहिले हुने टुंगो छैन । दोस्रो चरणको वार्ताको तयारीका लागि थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समितिको बैठक बसिरहेको वार्ता टोलीका संयोजक रुक्मिणी चौधरीले बताइन् ।
गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेका छन् ।
थरुहट संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी वार्ता टोलीमा छन् ।
तपाईको प्रतिक्रिया