काठमाडौं, २३ असार । नक्सा प्रकरणमा फरक मत राख्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई बर्खास्त गर्ने तयारी भइरहेको छ ।
नेपालको निशान छाप परिवर्तनका लागि लिपुलेक, लिम्पियाधुरा र कालापनीको विषयमा सरकारले गर्न लागेको संविधान संशोधनको विरुद्धमा सांसद गिरीले संशोधन दर्ता गराएकी थिइन् । त्यसलगत्तै समाजवादी पार्टीले संशोधन फिर्ता लिई नक्सासम्बन्धी विधेयकमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो ।
तर, सांसद गिरी आफ्नो अडान नछोडी मतदान प्रक्रिया कै बहिष्कार गरेर चलिरहेको संसद बैठकबाट बाहिरिएकी थिइन् ।
पार्टीको निर्णय र नीति विपरीत सांसद गिरीको क्रियाकलाप भएकोले उनलाई कारबाही गर्न लागिएको एक नेताले बताएका छन् ।
सांसद गिरी तत्कालीन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको तर्फबाट खसआर्य कोटाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् ।
सांसद गिरीको ठाउँमा खसआर्य कोटाबाटै लीला सिटौलालाई प्रतिनिधित्व गराउन लागिएको स्रोतले बताएको छ ।
यता, समाजवादीका नेता डा.शिवजी यादवले गिरीलाई सांसद पदबाटै हटाउने निर्णयमा पार्टी नपुग्ने दाबी गरेका छन् ।
‘माननीय सरिता गिरीले पार्टीको निर्णय र नीतिविपरीत क्रियाकलाप गर्नुभयो । उहाँलाई पार्टीले कारबाही त गर्छ नै । केही दिनसम्मका लागि निलम्बनसम्म गर्न सक्छ तर सांसद पदबाटै हटाउँछ भन्ने मलाई लाग्दैन । यो हदसम्मको कारबाही पार्टीले नगर्ला ।’ यादवले मधेशवाणीलाई भने ।
यद्यपि, सांसद गिरीलाई कारबाही गर्ने विषयमा अहिले समाजवादी पार्टीको बैठक भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया