सर्लाही, ३ फागुन । सर्लाहीको उत्तर–पश्चिम क्षेत्रमा सैयौं हेक्टरमा उत्पादन भएको आलुले उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् ।
किसानले प्रतिकिलो ७०/८० रुपैयाँमा बिउ किनेर रोपेको आलु अहिले १५ रुपैयाँमा बिक्री गरेका छन् । छिमेकी मुलुक भारतबाट बजारमा सस्तो मूल्यमा आलु भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुले भाउ नपाएको हो ।
लामो समयदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएको बागमती नगरपालिका–७ राजघाटका रहमप्रवेश महतोले यस वर्ष दुई बिघा क्षेत्रफलमा आलु खेती गरेका छन् ।
उनले खेतबाट नै व्यापारीलाई प्रतिकिलो १५ रुपैंयाँ आलु बिक्री गरेका छन्। महतोले दुई बिघामा लगाएको आलुबाट गत वर्ष ६ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु परेको उनले बताए। महतोका अनुसार यस वर्ष प्रतिकट्ठा १० हजार रुपैयाँसम्म खर्च भएको छ ।
त्यस्तै, बरहथवा नगरपालिका–२ हजरियाका किसान चन्द्रप्रसाद वाग्लेले यस वर्ष आलु खेतीबाट लागत उठाउन समेत मुस्किल परेको गुनासो गरे । ‘गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गरेका थियौं,’ उनले भने, ‘यो वर्ष १५ रुपैयाँमा बेच्नु पर्यो, लागत र हैरानी उठेन।’
आलु लगाउने समयमा कालोबजारीमा युरिया मल प्रतिबोरा १ हजार ४०० देखि १ हजार ८०० रुपैयाँसम्म किनेको उनको भनाइ छ । उनका अनुसार भण्डारण स्थलको अभावमा किसानले खेतबाट नै आलु बिक्री गर्न बाध्य भएका छन् ।
सर्लाहीमा हजरिया, राजघाट, बरहथवा, शङ्करपुर लगायत क्षेत्रमा व्यावसायिक रुपमा आलु खेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाव, कुप्रीसिन्दुरे, विविरे र कोमल जातको आलुको खेती गरिन्छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर करिब १ हजार ४०० हेक्टरमा आलु खेती हुने गरेको छ । यस वर्ष मात्र ३ लाख ५२ हजार २ सय क्विन्टल आलु उत्पादन हुने ज्ञान केन्द्रले जनाएको छ । यस क्षेत्रका किसानले मकै लगायतको बालीमा समेत घुसुवा बालीको रुपमा समेत आलु उत्पादन गर्दै आएका छन् ।
सर्लाहीमा उत्पादित आलु वीरगञ्ज, रौतहटको चन्द्रपुर, बाराको कलैया लगायतको स्थानमा सित भण्डारणको लागि लैजानु पर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गरे ।
तपाईको प्रतिक्रिया