सर्लाही, २० माघ । नेपाली काँग्रेसका १३ वटै भातृ सङ्गठनले सोमबार सर्लाहीसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको छ ।
काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सोमबार प्रदर्शन गरेको हो ।
काँग्रेसले मलगंवा नगरपालिकाको शहिद चौकमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष सूर्यनारायण रायको अध्यक्षता तथा नेपाल विद्यार्थी सङ्घका नेता युवराज देवकोटाको सञ्चालन रहेको थियो ।
प्रदर्शनमा आमन्त्रित केन्द्रीय सदस्य जंगीलाल राय र शम्भुलाल श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला उपाध्यक्ष द्वय सुरेन्द्र प्रसाद सिंह र राम बलि साह, जिल्लाका पूर्व पार्टी सभापति लक्ष्मण राय र महेन्द्र साह, नेपाली काँग्रेसका मलगंवा नगरपालिकाका नगर समिति सभापति चन्द्र किशोर साह लगायत काँग्रेसका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया