सर्लाहीमा नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो

समाचार

2/19/2021

सर्लाही, ७ फागुन । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएर नागरिकलाई मार पार्ने काम गरिएको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले लालबन्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

जनज्योति क्याम्पस अगाडि नेविसंघमा आबद्ध विद्यार्थीहरू जम्मा भएर सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला बनाएर जलाएका हुन् ।

केन्द्रीय कार्यक्रम अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बैतडीमा काँग्रेस नेता एनपी साउद उपस्थित कार्यक्रममा नेकपाका कार्यकर्ताबाट भएको आक्रमणको विरोध जनाउँदै प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए ।

प्रत्येक पेट्रोलियम पदार्थको मूल्य गए रातिबाट लिटरमा दुई रुपैयाँ बढाइएको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र हवाई इन्धनको ६७ रुपैयाँ कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ