सर्लाही, ११ जेठ । सर्लाहीमा मंगलबारबाट थप सात दिन निषेधाज्ञा थप भएको छ । बैशाख २५ गते राति १२ बजेदेखि बैशाख ३१ र जेठ १ देखि १० गतेसम्म गरी दुई पटक निषेधाज्ञा गरिसकेको सर्लाही प्रशासनले मंगलबारबाट थप ७ दिन निषेधाज्ञा थपेको हो ।
अब जेठ १७ राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबारसम्म सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । संक्रमित १०५८ जना पुगेका छन् ।
जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सोको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।
निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द हुने छन् ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिइने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
तपाईको प्रतिक्रिया