सर्लाहीमा ५ र धनुषामा २ बजेसम्म पसल खोल्न पाइने

समाचार

9/7/2020

जनकपुरधाम, २२ भाद्र । सर्लाहीमा निषेधाज्ञालाई खुकुलो बनाई विहान १० देखि अपरान्ह ५ बजेसम्म बजार खोल्न दिइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाई पसलहरु १० देखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

प्रशासन कार्यालयले जिल्लाभर लाग्ने हाटबजार र मेला भने सञ्चालन नहुने, होटल र मदिराजन्य पदार्थ बिक्री गर्ने पसल पनि नखोल्ने निर्णय गरेको छ । उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी गर्ने साधन सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब सोमबारदेखि आवतजावतमा मात्रै कडाइ गरिने भएको छ ।

यस्तै धनुषामा निषेधाज्ञा खुकुलो बनाई दिउँसो २ बजेसम्म पसल खोल्न दिइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बिहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न गरी एक साताका लागि निषेधाज्ञाको म्याद थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

जिल्लामा निषेधाज्ञा भने भदौ २८ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ । यद्यपी यो अवधीमा दिउँसो २ बजेसम्म पसल खोल्न सकिने उनले बताए । व्यापार व्यवसाय गर्दा स्वास्थ्य सावधानीका उपाय भने अपनाउनुपर्छ ।

यसअघि भदौ १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ २१ गतेसम्म मध्यान्ह १२ बजेसम्म मात्र पसल खोल्ने गरी निषेधाज्ञा लगाएको थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले साउन १९ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ