सर्लाही, ७ साउन । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणको विषयमा पार्टी केन्द्रीय कार्यालयमा क्षेत्रीय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका काँग्रेस नेताहरूले आपत्ति जनाएका छन् ।
सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रीय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गरेका छन् ।
उनले भने,‘सर्लाही जिल्लामा क्रियाशील नवीकरण र समायोजनको विषयमा धाँधली भएको छैन । ममाथि लगाइएको आरोप झुटो हो । नयाँ सदस्यताको हकमा क्षेत्रीय सभापतिलाई विधानतः अधिकार दिइएको छ, वडा सभापतिमार्फत जति नयाँ फाराम पटाइयो, त्यसको भरपाई दिइयो । फाराम बुझ्ने काम गर्नुभयो, तर ईन्ट्री दिएन । ईन्ट्री नदिएको ठाउँमा उल्टै उनले १५० जना आफ्नो मान्छे राखेर ईन्ट्री गराए । क्षेत्रीय सभापति दिनेश मिश्रले गल्ती गर्नुभएको छ ।’
उनले आफूले केन्द्रबाट लगेको फाराम लगेर क्षेत्रीय सभापतिलाई बुझाएको उल्लेख गर्दै क्षेत्रीय सभापति मिश्रले ११ वटा वडामा फाराम नै नदिएको र त्यही बचेको फरामलाइ गलत रुपमा प्रयोग गरेको पनि आरोप लगाए ।
उनले ब्रम्हपुरीको वडा नम्बर ७ मा ५९ जना क्रियाशील सदस्यहरूमा ५८ जनाको नाम हटाएर क्षेत्रीय सभापति मिश्रले आफ्नो मान्छेको नाम राखेको दाबी गरे ।
त्यस्तै, केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले पनि जिल्ला सभापतिले भनेका कुराको समर्थन गरे । उनले भने,‘उहाँको काममा हामी सन्तुष्ट छौँ । बरु, सर्लाहीमा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेकाहरूलाई समायोजन गर्न हिचकिचाहट भयो ।’ उनले अरू पार्टी त्यागेर काँग्रेसमा आएकालाई स्थान नदिइएको भन्दै गुनासो पोखे ।
तपाईको प्रतिक्रिया