सर्वोच्चको फैसलाको स्वागत

समाचार

7/13/2021

जनकपुरधाम, २९ असार । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि जनकपुरधाममा विपक्षी गठबन्धनले दीप प्रज्ज्वलनसहित विजयी जुलुस निकालेको छ ।

सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि संयुक्त विद्यार्थी संगठनको अगुवाइमा जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको छ ।

संयुक्त विद्यार्थी संगठनले रेल्वे स्टेसनबाट निकालेको जुलुस भानुचोक, शिवचोक, जनकचोक, रामचोक, सोनरपट्टी, जानकीचोक हुदैँ पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको फैसलाको भव्यपूर्वक स्वागत गरिएको हो ।

जुलुस प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी धनुषा, अनेरास्ववियु धनुषा, नेविसंघ र समाजवादी विद्यार्थी युनियनलगायत संंगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

त्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको अगुवाइ महेन्द्रनगर मुख्य चोकमा दीप प्रज्वलन गरी खुसियाली मनाइएको थियो ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा राष्ट्रिय युवा संघ नेपाल (माधव नेपाल समूह) महोत्तरी र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा सर्वोच्च अदालतको निर्णयको स्वागत गरिएको छ । अखिल क्रान्तिकारी महोत्तरी इन्चार्ज उचित दासको संयुक्त नेतृत्वमा मैनवत्ती बालिएको थियो ।

यसैगरी गौशालामा पनि सर्वोच्चको फैसलाको समर्थन गर्दै दीपावली मनाइएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवम प्रदेश २ का संयोजक सूर्यनारायण साहको नेतृत्वमा विभिन्न युवाले खुसियाली साटेका हुन् ।

गौशाला नगरपालिकाको बजारस्थित गणेश मन्दिरको अगाडि मैनबत्ती प्रज्वलन गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ