सर्वोच्च अदालतको निर्णय मान्छौं : जसपा अध्यक्ष ठाकुर

समाचार

1/4/2021

काठमाडौं, २० पुस । संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निर्णय आफूहरुले स्वीकार गर्ने बताएका छन् ।

संसद विघटनविरुद्धको रिटहरुमा सर्वोच्च अदालतमा अहिले विचाराधीन अवस्थामा रहेको बताउँदै अध्यक्ष ठाकुरले संविधानको अन्तिम व्याख्याता सर्वोच्च नै रहेकोले उसको निर्णय मान्ने बाहेक अर्को विकल्प नरहेको समेत जिकिर गरेका हुन् ।

सोमबार जसपानिकट राष्ट्रिय इन्जिनियर संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै अध्यक्ष ठाकुरले संसद विघटन विरुद्ध आफूहरु आन्दोलन गरे तापनि सर्वोच्चले यदि त्यसलाई सदर ग¥यो भने चुनावको तयारीमा लाग्नुपर्ने संकेतसमेत गरेका थिए ।

उनले इन्जिनियरहरु राष्ट्र निर्माणका ठूलो भूमिका निर्वाह गरिरहेको बताउँदै प्रशंसा गरेका थिए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता राष्ट्रिय इन्जिनियर संघको केन्द्रीय अध्यक्ष ई.भगवान झाले गरेका थिए भने विशिष्ट अतिथि जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो थिए ।

कार्यक्रममा जसपा नेतागण मृगेन्द्र सिंह यादव, उमाकान्त झा, अकवाल अहमद साह, केशव झा, डा.सुरेन्द्र झा, जितेन्द्र सिंह, मनिष मिश्र, ई. भवेश मिश्र, ई.बिनोद यादवलगायतको सहभागिता थियो ।

यसैगरी, नेपाल तराई इन्जिनियर समाजका अध्यक्ष डा.अजय झा, सल्लाहकार ई.दिगम्बर झा, पूर्व अध्यक्ष ई.दिलिप झा, उपाध्यक्ष ई.आनन्द सिंह, ई.दिपेन्द्र साह लगायतहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा उल्लेखनीय युवा इन्जिनियरहरू राष्ट्रिय इन्जिनियर संघमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ