जलेश्वर, १ बैशाख । कोरोना भाइरसबाट सजगता अपनाउन गरिएको लकडाउनले समस्यामा परेका जलेश्वरका अतिविपन्न परिवारहरुलाई प्रशासनको स्विकृतीमा स्वस्फूर्त ढंगले राहत सामग्री तथा भोजन वितरण गर्न थालिएको छ ।
जलेश्वर महादेव मन्दिर नजिक घर भएका नरेश प्रसाद चौधरीले सोही क्षेत्रका अतिविपन्न दलित तथा गैरदलितलाई ब्यक्तिगत खर्चबाट खाधान्न एवं तरकारी वितरण गरेका छन् ।
विहानै ६० घरमा पुगेर कुपन बाँडिएपछि अतिविपन्नहरुले आफ्नो अनुकुलको समयमा राहत लगेको राहत वितरणकर्ताका छोरा सुनिल प्रसाद चौधरीले बताए । पोको पारेर वितरण गरिएको बोरामा चामल, दाल ,आलु, सोयाविन लगायतको सामग्री थियो ।
त्यस्तै गत हप्ता जलेश्वर रंगशालामा जनकपुर अटोमोवाइल्स डिलर्स एशोसिएसनले १६० अतिविपन्न परिवारलाई खाधान्न उपलब्ध गराएका थिए भने स्थानीय पवन अग्रवालले छसय प्याकेट खाना बितरण गरेका थिए ।
केही सर्वसाधारणले अतिविपन्नलाई स–साना सहयोग गरिरहेपनि स्थानीय सरकारको राहत पाउन सकेका छैनन् ।
तपाईको प्रतिक्रिया