सिरहा, १ बैशाख । वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहँदै आएको सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका १४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका छन् ।
धनगढीमाई नगरपालिका, लिवर्ट संस्था र स्थानीयको साझेदारीमा निर्माण भएको अम्बास सिंचाई तथा खानेपानी आयोजनाको उद्घाटन भएर घरघरमै जडित खानेपानीको धारामा पानी आएपछि स्थानीय खुसी भएका हुन् ।
खानेपानी आयोजनाको उद्घटन गर्दै धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले सम्पन्न खानेपानी आयोजनालाई सबैले अपनत्व हुने गरी पानी खान आग्रह गरे ।
खानेपानीको शुद्धताको बारेमा सबैले सचेत ढंगले अगाडि बढ्न आग्रह गर्दै नगरप्रमुख चौधरीले दीर्घकालीन रुपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको बताए ।
भौगोलिक रुपमा कठिनाई रहेको उक्त क्षेत्रका २२ घर परिवारका लागि नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख ८० हजार र करिव ५ लाख स्थानीय जनश्रमदान गरी झण्डै १५ लाख ८८ हजार ६५५ रुपैयाँ लगानीमा खानेपानी योजनाको काम सम्पन्न भएको हो ।
१४ हजार लिटर अट्ने खानेपानी ट्यांकी निर्माणले त्यस वरपरका २२ घर परिवारलाई घरघरमै जडित धाराबाट खानेपानी उपलब्ध हुनेछ ।
तपाईको प्रतिक्रिया