सिरहा र महोत्तरीमा निषेधाज्ञा थप

समाचार

7/8/2021

लहान, २४ असार । सिरहामा निषेधाज्ञाको समय १६ दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञाको समय असार ३१ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको जानकारी दिए ।

यद्यपि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला सैलुन र होटलबाहेकका पसल, व्यवसाय बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ कँणेलले बताए । सिरहामा गत वैशाख २३ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ ।

यस्तै महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । बुधबारदेखि लागु हुनेगरी सातौँ पटक जारी निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार थप एक साता निषेधाज्ञाको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसल अब बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन् । यसअघिको पछिल्लो आदेशमा दिउँसो तीन बजेसम्म यस्ता पसल सञ्चालनको अनुमति थियो ।

त्यसैगरी अब जिल्लाभरि मात्र सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनसक्ने आदेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ