सालको गोलियासहित दुई पक्राउ

समाचार

12/13/2020

सर्लाही, २८ मंसिर । वनका कर्मचारीहरुको गस्ती टोलीले सर्लाहीको बेग्लाबेग्लै स्थानबाट तस्करीको काठसहित दुई जनालाई पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रबाट सालको काँचो गोलिया तस्करी गरिरहेका दुई जना पक्राउ परेका हुन् ।

सागरनाथ वन विकास परियोजनाबाट खटिएको गस्ती टोलीले बिहीबार २७ दशमलव ७० क्यूविक फिट बराबरको ८ वटा सालको गोलियासहित दुई जना तस्करलाई पक्राउ गर्न सफल भएको हो ।

सागरनाथ वन विकास परियोजनाबाट सहायक वन अधिकृत शिवेन्द्रप्रसाद चौधरीले जानकारी दिए । अनुसन्धान जारी रहेकाले तस्करको नाम भने खुलाइएको छैन । उनीहरूलाई लालबन्दीस्थित डिभिजन वन कार्यालयको हिरासतमा ल्याएर राखिएको छ । वन गस्ती टोलीले ५ थान साइकल, १ थान आरा र १ थान बन्चरोसमेत बरामद गरेको छ । तस्करीमा संलग्न केही व्‍यक्तसहरू भने भागेका छन् ।

यस्तै, डिभिजन वन कार्यालय र सव(डिभिजन वन कार्यालय जानकीनगरबाट खटिएको वन कर्मचारीहरूको संयुक्त गस्ती टोलीले हरिवन नगरपालिकाको घुर्कौली क्षेत्रबाट ४६ क्यूविक फिट बराबरको ८ थान नै सालको गोलिया बरामद गरेको छ ।

सर्लाहीमा सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने सागरनाथ, जानकीनगर, घुर्कौली, बागमती लगायतका क्षेत्र तथा घारीबथान, लालबन्दी लगायतका स्थानमा रहेका वन क्षेत्रबाट काठ तस्करी हुने गरेको छ। अहिलेको जस्तो हुस्सु लाग्ने मौसममा काठ तस्करी अझ बढ्ने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ