काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालमा संविधान र शासन पटक–पटक बदलियो तर विचार र व्यवहार कहिल्यै पनि नबदलिएको बताएका छन् ।
‘संविधान र शासनको निर्माण यहाँका शासकवर्गले आफ्ना मात्र गर्दोरहेछ’, उनले भने, ‘औपनिवेशिक शासन सत्ता चलाउनेहरुले नश्लवादी सोच र चिन्तन बोकेका केही जमातले आफ्नो लागि संविधान बनाउने, आफ्नो लागि शासनको निर्माण गर्ने । ब्यानर मात्रै फेर्ने ।’
उनले गणतन्त्रभन्दा कुनै पनि शासन दुनियाँ राम्रो नभएको जिकिर गर्दै गणतान्त्रिक अवस्थामा पनि सम्पूर्ण नेपाली जनताले हाम्रो शासन अनुभूति गर्न नसकेको धारणा राखे । उनले यो देशको सबभन्दा ठूलो समस्या भनेको नश्लीय विचार र चिन्तन रहेको बताए ।
‘यो समस्याको समाधानका लागि यो पार्टी जन्मिएको हो’, उनले भने, ‘कांग्रेस र कम्युनिष्टले गर्न सकेन, यो त प्रमाणित नै भइसक्यो नि त । पटक–पटक नेपाली जनताले यिनीहरुलाई हेरेकै हो नि त ।’
दुनियाँमा नै कम्युनिजम र क्यापिटलिजम असफल भइसकेको नेपालमा पनि असफल हुनु स्वाभाविक रहेको उनले बताए । उनले खोक्रो राष्ट्रवादको नारा दिएर जनतालाई झुक्याउने काम मात्र भएको जिकिर गरे ।
उनले केपी ओली प्रवृत्तिले देशलाई बर्बाद गरेको आरोप लगाएका छन् । जुन जिम्मेवारी यहाँका शासकले पूरा गर्न सकेन त्यो जिम्मेवारी जसपाले गर्नुपर्ने बताए । देशको मूल समस्याको समाधान पनि आफूहरुले नै गर्ने दाबी समेत गरे ।
तपाईको प्रतिक्रिया