वीरगञ्ज, २० जेठ । सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमले वीरगञ्ज नाकाको स्थलगत निरीक्षण गरेका छन् ।
गौतमलाई सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले नाकाको गतिविधिको बारेमा जानकारी गराए । उनका अनुसार २०७७ चैत २३ गते यता नाकामा १ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा संक्रमण पुष्टि भएको छ ।
निषेधाज्ञामा पनि नाका हुँदै माछामासु, फलफूल, तरकारी र कोइला बोकेका १५० देखि २ सयवटा गाडी ओहोरदोहोर गरिरहेका छन् ।
सीमामा सशस्त्र प्रहरी नायब उपरीक्षक वा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा स्क्वाड ट्याक्टिकल टिम गठन गरेर शान्ति सुरक्षा र अवैध गतिविधि नियन्त्रणको काम गरिरहेको डीआईजी गौतमले बताए । उनले सीमित स्रोत साधनको उच्चतम प्रयोग गरेर सीमा क्षेत्रमा कडाइ गरिएको दाबी गरे ।
उनले प्रदेशस्थित पीसीसीएमसी र आठवटै जिल्लाका डीसीसीएमसीसँग र अन्य सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरीले काम गरिरहेको बताए ।
प्रदेश २ मा सशस्त्र प्रहरीले ७२ वटा बोर्डर आउट पोष्ट, ४९ फरवार्ड अपरेटिङ बेस र त्यसभन्दा अगाडि ड्युटी पोष्ट राखेर सुरक्षा दिइरहेको छ । बागमती प्रदेशले ८५ जना र तालिम केन्द्रबाट समेत थप जनशक्ति पठाइएको छ ।
तपाईको प्रतिक्रिया