काठमाडौं, ५ जेठ । झापामा सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गर्ने भारतीय नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरी कारबाही गर्ने भएको छ । भारत–नेपालका सुरक्षाकर्मी तथा जनप्रतिनिधिबीच बसेको बैठकले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गर्नेलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
‘त्यस घटनामा संलग्न हुनेलाई पहिचान तथा कारबाही गरी नेपाली सुरक्षाकर्मीलाई जानकारी गराउने भन्ने कुरा भएको छ,’ झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, ‘सशस्त्र प्रहरीको साइकल पनि लगेको थियो। त्यसलाई बनाएर दिने पनि सहमति भएको छ ।’
कचनकवल गाउँपालिका–१ घेराबारीमा शनिबार राति भारतीयको समूहले नेपालतिर आएर सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेको थियो । सशस्त्र प्रहरीहरू खाना खान गएका बेला उनीहरूले पोष्टमा आक्रमण गरेका थिए भने कुर्ची तथा साइकलमा समेत क्षति पुगेको थियो । पछि सशस्त्र प्रहरीले हवाई फायर गर्दा उनीहरू भागेका थिए ।
एसएसबीको टोलीले भारतीय नागरिकमाथि कुटपिट गरेपछि आक्रोश पोख्न नेपाली सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रमुख रानामगरले बताए ।
तपाईको प्रतिक्रिया