संसदमा दर्ता नभएको राजपाको संविधान संशोधन विधेयक यस्तो छ

समाचार

5/30/2020

काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले संसदमा आफ्नो प्राइभेट बिलको रुपमा संविधान संशोधन विधेयक दर्ता गराउन खोज्दा संसदका महासचिवले दर्ता गर्न मानेन । शुक्रबार राजपाका महन्थ ठाकुरको नेतृत्वमा एक टोली संविधान संशोधन विधेयक दर्ता गर्न पुगेको थियो ।

राजपाले दर्ता गराउन खोजेको संशोधन विधेयक यस्तो छ :

गैरसरकारी प्रस्तावको रूपमा महन्थ ठाकुरद्वारा संविधान संशोधनको निमित्त प्रस्ताव दर्ता :-

श्रीमान महासचिव,

संघीय–संसद सचिवालय ।

म÷हामि प्रतिनिधिसभा नियमावली २०७४ को नियम बमोजिम संशोधन प्रस्ताव पेश गर्न चाहन्छु÷चाहन्छौं ।

विधेयकको नामः–नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक

प्रस्तावना ः नेपालको संविधानलाई संशोधन गर्न वाञ्छनीय भएकोले,

संघीय संसदले यो संशोधन जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस संशोधनको नाम “नेपालको संविधान (दोस्रो संशोधन) २०७७” रहेको छ ।
(२) यो संशोधन तुरुन्त प्रारम्भ हुने छ ।
२. नेपालको संविधानको धारा ६ मा संशोधन ः नेपालको संविधान (यस पछि “संविधान” भनिएको) को धारा ६ को अन्त्यमा देहायको वाक्यांश थपिएको छ ः–
”नेपाल सरकारले भाषा आयोगको सिफारिसमा सबै मातृ भाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ ।”
३. संविधानको धारा ७ मा संसोधन ः संविधानको धारा ७ को उपधारा (२) पछि देहायको उपधारा (२क) थपिएको छ ः–
”(२क) भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरिएका भाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ ।”
४. संविधानको धारा ११ मा संशोधन ः संविधानको धारा ११ को उपधारा (६) को सट्टा देहायको उपधारा (६) राखिएको छ ः–
”(६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाए पछि सङ्घीय कानून बमोजिम नेपालको वैवाहिक अङ्गीकृत नागरिकता लिन सक्नेछ ।”
५. संविधानको धारा ८६ मा संशोधन ः संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) को सट्टा देहायको खण्ड (क) राखिएको छ ः–
”(क) प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक सहित तीन जनाका दरले एकाइस जना र प्रत्येक प्रदेशको जनसङ्ख्याको अनुपातमा सङ्घीय कानून बमोजिम निर्वाचित हुने पैतीस जना गरी छपन्न जना ।
तर प्रदेशबाट पैतीस जना सदस्य निर्वाचन गर्दा सम्बन्धित प्रदेशको जनसङ्ख्याको
अनुपातमा कम्तीमा चौध जना महिला समेतको प्रतिनिधित्व हुने गरी निर्वाचित गरिने छ ।”
६. संविधानको धारा २१५ मा संशोधन ः संविधानको धारा २१५ को उपधारा (९) मा रहेका “उपधारा (७)” भन्ने शब्दहरुको सट्टा “उपधारा (८)” भन्ने शब्दहरु राखिएका छन् ।
७. संविधानको धारा २७४ मा संशोधन ः संविधानको धारा २७४ को,–
(१) उपधारा (४) को सट्टा देहायको उपधारा (४) राखिएको छ ः–
”(४) उपधारा (२) बमोजिम पेश भएको विधेयक देहायको विषयसँग सम्बन्धित भएमा सम्बन्धित सदनको सभामुख वा अध्यक्षले त्यस्तो विधेयक सदनमा पेश भएको तीस दिनभित्र सहमतिको लागि देहायको प्रदेश सभामा पठाउनु पर्नेछ ः–
(क) प्रदेशको सीमाना परिवर्तनको विषय भए त्यसरी सीमाना परिवर्तन हुने सम्बन्धित सबै प्रदेशको प्रदेश सभामा,
(ख) अनुसूची–६ को विषय भए सबै प्रदेश सभामा ।”
(२) उपधारा (५) मा रहेका “सङ्घीय संसदमा” भन्ने शब्दहरुको सट्टा “सङ्घीय संसदमा सम्बन्धित सदनमा” भन्ने शब्दहरु राखिएका छन् ।
(३) उपधारा (७) मा रहेको “अवधिभित्र” भन्ने शब्द पछि “ उपधारा (४) को खण्ड (क) बमोजिमको विषयमा सम्बन्धित कुनै एक प्रदेश सभा र खण्ड (ख) बमोजिमको विषयमा” भन्ने शब्दहरु थपिएका छन् ।
(४) उपधारा (८) मा रहेका “उपधारा (५) बमोजिम” भन्ने शब्दहरुको सट्टा “उपधारा (४) को खण्ड (क) बमोजिमको विषयमा सम्बन्धित सबै प्रदेश सभा र खण्ड (ख) बमोजिमको विषयमा” भन्ने शब्दहरु राखिएका छन् ।
८. संविधानको धारा २८७ मा संशोधन ः संविधानको धारा २८७ को उपधारा (६) को खण्ड (क) पछि देहायको खण्ड (क१) थपिएको छ ः–
“(क१) धारा ६ बमोजिमको नेपालमा बोलिने सबै मातृ भाषाहरुको सुची तयार गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने ।”
९. संविधानको धारा २८७क थप ः संविधानको धारा २८७ पछि देहायको धारा २८७क. थपीएको छ ः–
“२८७क.सङ्घीय आयोगको गठन” ः (१) प्रदेशको सङ्ख्या तथा सीमाङ्कन हेरफेर
सम्बन्धी विषयमा सिफारिस गर्न नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्न सक्नेछ ।
(२) उपधारा (१) बमोजिमको आयोगको कार्यादेश तथा कार्याबीधि त्यस्तो आयोग गठन गर्दा नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ