सिरहा, २३ जेठ । सिरहाको मिर्चैयामा संसदीय विकास कोषको रकमबाट गुणस्तहीन काम भएको आरोप लागेको छ ।
मिर्चैैैया नगरपालिका–९ ढोढनास्थित श्री जनता प्राथमिकता विद्यालयको भौतिक संरचना निर्माण कार्यमा कोषको रकमको दुरुपयोग गर्दै गुणस्तरहीन काम भइरहेको वडा अध्यक्ष मोहन पोखरेल र नेपाली कांग्रेसका जिल्ला सहसचिव रमेश पोखरेलले आरोप लगाएका हुन् ।
यो विद्यालयमा प्रदेश सांसद् दिलिप साहको संसदीय कोषको ३० लाख बजेटबाट पर्खाल, छत ढलान, रंगरोगनलगायतका काम भइरहेका छन् ।
पर्खाल निर्माणमा दुई नम्बरी ईटाको प्रयोग भएको, मापदण्डअनुसार रडको प्रयोग नगरिएको, ठेक्का नलगाई काम गराइएको र बजेट अनुसारको काम नभएको पनि नेता पोखरेलले आरोप लगाएका छन् ।
वडा अध्यक्ष पोखरेलले भने– ‘मलाई कुनै जानकारी नै नदिई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश मण्डलले मनोमानी तरिकाले काम गराइरहेका छन् ।’
यता, प्रदेश सांसद साहले ती आरोपहरु खण्डन गरेका छन् । उनले विद्यालयमा आफ्नो संसदीय कोषबाट भइरहेको भौतिक संरचना निर्माण प्रदेशकै नमुना र गुणस्तरीय काम भइरहेको दाबी गरेका छन् ।
उनले निर्माण कार्यको आफैले अनुगमन गरी मापदण्डअनुसार नै काम भइरहेको मधेशवाणीलाई जानकारी दिए । उनले भने, ‘यदि मापदण्डविपरीत काम भए तत्कालै रोक्ने छु र छानबिन गरी दोषीलाई कारबाही हुनेछ ।’
यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मण्डलले पनि ती आरोपहरुमा कुनै सत्यता नरहेको बताएका छन् । उनले इटा भट्टीबाट इटा ल्याउँदा दुई तीन सय दुई नम्बरको ल्याइएको तर ती इँटाहरु प्रयोग नगरिएको बताए ।
ती दुई नम्बरको इँटा लैजान इटा उद्योगीलाई भनिसकेको र त्यसको कुनै भुक्तानीसमेत नगरिने जानकारी उनले दिए । वडाअध्यक्ष पोखरेललाई समेत जानकारी गराइएको उनले बताए । वडाअध्यक्ष पोखरेलको समेत हस्ताक्षर रहेको मण्डलको दाबी छ ।
मापदण्डअनुसार नै भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको दाबी गर्दै उनले भने, ‘तपाइँहरु आएर एकचोटि निरीक्षण गर्नुहोस्, गुणस्तरहीन कार्य भइरहेको छ भने जुनसुकै कारबाही भोग्न तयार छु ।’
तपाईको प्रतिक्रिया