काठमाडौं, २७ फागुन । १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई ‘सिएआइटि वुमन इन्टरप्रेनियरसिप’ अवार्डबाट सम्मान गरिएको छ ।
भारतको नयाँदिल्लीस्थित होटल ले मेरिडियनको सभा हलमा आयोजित एक कार्यक्रमकाबीच सांसद चौधरीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तिकरण तथा महिला उद्यमशीलतामा विभिन्न तरिकाले काम गर्दै आएको हुनाले उनलाई उक्त अवार्डबाट सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
उक्त अवार्ड कार्यक्रममा उपस्थित् हुन नसकेकी चौधरीले भर्चुअल माध्यमबाट अवार्ड ग्रहण गरेकी हुन् । अवार्ड ग्रहणसँगै सांसद चौधरीले आफूलाई उक्त सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गरिन् ।
समारोहमा सांसद चौधरीले कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले अब दक्षिण एसियाकै महिलाहरुलाई एकीकृत गरी समग्र भेग मै महिला उद्यमसिलतालाइ जोड दिनुपर्ने धारणा राखेकी छिन् ।
तपाईको प्रतिक्रिया