सांसद तथा उद्योगपति विनोद चौधरीले भने, ‘आजको प्राथमिकता भनेको अहिले बाँच्नु हो’

समाचार

5/18/2020

काठमाडौं, ५ जेठ । वरिष्ठ उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आजको प्राथमिकताबारे संसदमा आफ्नो धारणा राखेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले आजको प्राथमिकता भनेको अहिले बाँच्नु र बचाउनु रहेको औल्याएका छन् ।

‘रोजगारी गुम्दै छन्, उद्योगधन्दा बन्द छन्, सडकमा उभिएका दिनहुँ हातमुख जोड्नुपर्ने बाध्यता भएका कामदार कामविहीन छन्,’ उनले भने, ‘समाजका हरेक वर्ग त्रसित छन् । एकातर्फ कोभिड–१९ रोगको कारणबाट भने अर्कोतिर कोभिडभन्दा पहिले भोक मर्ने हो भन्ने त्रासबाट ।’

सरकारका प्राथमिकताका बाबजुद प्राथमिकताका क्षेत्र उद्योग, प्रोजेक्ट, साइटहरु बन्द रहेको प्रति उनले ध्यानाकर्षण गराएका छन् । उनले यदि खुलेका उद्योगहरु चल्ने स्थिति रहेन भने भोलीका दिनमा नयाँ उद्योग खुल्ने छन् र लाखौंको तादातमा विदेशबाट फर्किने युवालाई रोजगारी दिन्छौं भनेर उद्घोष गर्नु दिवा सपना मात्र रहेको उनले दाबी गरे ।

उनले बेरोजगारहरुलाई कृषि क्षेत्रमा संलग्न गराउन कृषि क्षेत्रलाई प्राथमिकताका साथ उभ्याइएको कुरालाई समर्थन गर्दै उनले आफू पनि त्यसको पक्षधर रहेको बताए ।

‘साँच्चिकै कृषि क्षेत्रलाई यदि सम्भाव्य बनाउन सकियो भने भारत र चीनबाट आयात हुने तरकारी र फलफुलसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन सकियो भने सामुदायिक वनको एउटा सफल प्रयोग जसको उदाहरण विश्वलाई नेपालले देखाउन सक्छ । त्यो किसिमको वातावरण बनाउन सकियो भने यसले एउटा काँचुली फेर्न सक्छ ।’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ