काठमाडौं, ११ माघ । प्रतिनिधिसभा पुनर्स्थापना भएपनि शासनसत्ता उही असफल भएका नेपाल कम्युनिष्ट पार्टीकै हातमा जाने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
उनले भने, ‘जुन पार्टी सत्ता चलाउन सकेन, असफल भयो, यदि संसद पुनर्स्थापना भयो भने फेरि सत्ता उही पार्टीको हातमा जान्छ र द्वन्द्व त रहिरहन्छ । किनभने कानूनीरुपमा त्यो पार्टी विभाजन भइसकेको छैन ।’
उनले संसद पुनर्स्थापना अहिलेको समस्याको समाधान नभएको दाबी गरेका छन् । सत्तारुढ दल नेकपा कानूनीरुपमा अहिले एउटै रहेको भन्दै दुवै समूहबीच द्वन्द्व भइरहने बताए ।
अर्कोतर्फ यदि मुलुक चुनावतिर गयो भने प्रधानमन्त्री ओलीको कदम सही ठहर्ने पनि जिकिर गरे । ‘त्यो बेलामा यदि हामी आन्दोलनलाई निरन्तरता दियौं भने हामी अदालतलाई कमजोर गर्छौं । यो स्थितिमा हाम्रो देश अहिले गएको छ ।’
जनताले कल्पना गरेको स्थिरता भविष्यमा नदेखिएको अध्यक्ष ठाकुरले बताउँदै मुलुक र समाज अहिले संकटको अवस्थामा रहेको धारणा राखे ।
तपाईको प्रतिक्रिया