जनकपुरधाम, १३ पुस । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल संसद विघटनविरुद्ध जसपाले गरेको विरोध प्रदर्शनमा सहभागि भएका छन ।
जनकपुरमा भएको प्रदर्शनमा मन्त्री सोनलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले संविधान अपूर्ण रहेको पुष्टि भएको दावी गरे । मन्त्री सोनलले प्रधानमन्त्रीको कदमले नै संविधान अधुरो रहेको प्रमाणित गरेको बताए ।
उनले भने, ‘जुन प्रकारले प्रधानमन्त्री ओलीले प्रतिनिधसभा विघटन गरेर जनताको भविष्यसँग खेलवाड गरेका छन्, त्यसको विरुद्ध सबै प्रजातान्त्रिक शक्ति एक भएर लड्नु पर्ने आवश्यकता छ ।’
पार्टी भित्रको आन्तरिक किचलोका कारण पूरै देशलाई बन्धक बनाउनु अनुचित रहेको भन्दै उनले आपसी विवादको कारण प्रधानमन्त्रीले पूरै देशलाई नै अन्यौलतामा धकेलेको आरोप लगाए ।
झण्डै दुई तिहाइको सरकार रहेकोमा नेपाली जनताको आशा भरोसालाई नेकपाले तोडेको मन्त्री सोनलले बताए ।
जनकपुरधाममा निकालिएको विरोध जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । विरोध सभामा विघटित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साह, प्रदेशसभा सदस्य परमेश्वर साह लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया