राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित मधेशवाणी राष्ट्रिय साप्ताहिक सफलतापूर्वक १६ वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । यो यात्रामा साथ दिने सम्पूर्ण शुभचिन्तक, शुभेक्छुक, पाठकवर्ग, सहयात्री, विज्ञापनदाता लगायत सम्पूर्ण जनमानसमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।
मधेशलाई केन्द्रमा राखेर आफ्नो देश र जनताको पक्षमा भूमिका निर्वाह गर्दै आएको मधेशवाणी परिवार आजबाट १७औं वर्षमा प्रवेश गरेकोमा हामी हर्षित भएका छौं । मधेशी जनताको हितको संरक्षण र अवरोधको पहिचान गरी सिपाहीको भूमिका निर्वाह गर्न पाएकोमा हामी आफूलाई सौभाग्यशाली ठान्दछौं ।
मधेश र मधेशीको स्थान/आकारको सुनिश्चितता तथा सम्मानपूर्ण जीवनका निमित्त निरन्तर संघर्षमा रहेको मधेशवाणी परिवारले रंगभेद र स्वसामुदायिक विभेदका विरूद्ध पूर्ववत् रूपमा सक्रिय रहने प्रतिबद्धता समेत जाहेर गर्दछौं ।
अधिकार प्राप्तिको संघर्ष, त्याग र उपलब्धिमा साझापन ल्याउन नसकेको कारण नेतृत्व वर्ग आलोचित हुनु परेको पीडा हामीसँग छ । समानता, समन्याय र समृद्धिका निमित्त सक्रिय राष्ट्रिय साप्ताहिक मधेशवाणीले स्थापनाको १७औं वर्षमा प्रवेश गरेकोप्रति सगौरव आभार प्रकट गर्दछौं ।
सोच, स्थापना, सहकार्यता र सहयात्रामा सहयोग गर्नु भएका सम्पूर्णलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु । आगामी दिनहरूमा पनि सहयोग, सद्भाव र सल्लाह पाइराख्ने विश्वास छँदैछ । मधेशीलाई अधिकार सम्पन्न बनाउन हामी निरन्तर लागिराख्ने छौं । सम्मानसहितको सहभागिता र रंगभेदमुक्त नेपाल निर्माणमा हाम्रो संघर्ष जारी नै रहनेछ ।
— प्रकाशक
तपाईको प्रतिक्रिया