१२ सय नेपाली बेलहिया नाकाबाट भित्रिए

समाचार

5/23/2020

बुटवल, १० जेठ । रुपन्देहीको बेलहिया नाकाबाट झण्डै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बेलहिया नाकामा आएर नाराबाजी गरेका थिए ।

भारतको नौतनवाका विभिन्न क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेर नाकामा आइपुगेका विभिन्न जिल्लाका नेपालीलाई बेलहिया नाकाबाट नेपाल ल्याइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले नाकाबाट एघार सय ८५ जना नेपालीलाई रुपन्देही ल्याइएको र चार सय ३० जना रुपन्देहीकै पालिकाका क्वारेन्टाइनमा बसेको जानकारी दिए ।

लकडाउनको समयमा भारतका विभिन्न ठाउँबाट नेपाल आउन लागेका उनीहरूलाई बेलहिया नाकाबाट फर्काएर भारतको नौतुनाको क्वारेन्टाइनमा राखिएको थियो ।

भारतले रेल सेवा शुरु गरेपछि हरेक दिन सात–आठ सयको संख्यामा नेपालीहरु बेलहिया नाका आउन थालेका छन् । भारतले लकडाउनकै बीचमा रेल सेवा शुरु गरेपछि भारतका विभिन्न राज्यबाट बेलहिया नाका हुँदै घर फर्कनका लागि दैनिक सात–आठ सय नेपाली सुनौली नाकामा आउने गरेका रुपन्देही प्रमुख एसपी हेमकुमार थापाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ