बारा, २४ असार । राजस्व छली ल्याइएको करिब १६ लाख बराबरका मोबाइलसहित प्रहरीले बाराबाट एक जनालाई पक्राउ गरेको छ ।
अवैध मोबाइलसहित प्रहरीले बाराको कोल्हवी नगरपालिका–४ बस्ने ४५ वर्षीय पदमबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।
हेटौँडाबाट पथलैया आउँदै गरेको प्रदेश २–०३–००१ च १४३ नम्बरको पिकअपमा केराको पात र पालले छोपी लुकाईछिपाई राखेर ल्याइएको अवस्थामा चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले मोबाइल बरामद गरेको थियो ।
पिकअपबाट मोबाइलको अनलाइनलगायत आवश्यक बिल बिजक नभएको अवस्थामा विभिन्न कम्पनीका १ हजार ५ सय २० वटा मोबाइल सेट बरामद गरेको थियो । बरामद गरिएको मोबाइलको बजार मूल्य १५ लाख ८६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
मोबाइलसहित प्रहरीले पिकअप चालक घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
तपाईको प्रतिक्रिया