रौतहट, २९ माघ । रौतहट प्रहरीले रौतहट सीमा क्षेत्रबाट स्रोत नखुलेको २१ लाख ९० हजार रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले गौर नगरपालिका–४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका–१ जिँगडवा बेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलमसहित रकम बरामद गरेको रौतहट प्रहरी प्रमुख सिद्धि बिक्रम शाहले जानकारी दिए ।
नम्बर नखुलेको स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको उनले बताए । १ हजार दरका १८१०,. ५ सय दरका ४८०, १ सय दरका ३००, ५० रुपैयाँ दरका १८००, २० दरका ९०१ र १० रुपैयाँ दरका २०० वटा नोट बरामद भएको प्रहरीले जनाएको छ ।
मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार रुपैयाँ उल्लेख भएको चेकसमेत बरामद भएको प्रहरी प्रमुख शाहले जानकारी दिए ।
पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको र नम्बर नखुलेको स्कुटर गौर भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक शाहले बताए ।
तपाईको प्रतिक्रिया