४६ प्रतिशत मधेशी मानव बेचबिखनबाट प्रभावित

समाचार

12/17/2020

काठमाडौं, २ पुस । मानव बेचबिखन तथा ओसारपसारमा ४६ प्रतिशत मधेशी प्रभावित भएको एक अध्ययनले देखाएको छ । जातीयताका आाधारमा विश्लेषण गर्दा मधेशी समुदायबाट बढी संख्यामा विदेशीभूमिमा मानव बेचबिखन हुने गरेको देखिएको हो ।

सञ्चार माध्यममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी प्रकाशित सामाग्रीहरु २०७६ माथि गरिएको विश्लेषणात्मक प्रतिवेदनमाथि काठमाडौंमा भएको छलफलमा यसबारे जानकारी दिइएको हो । पत्रकार विजय पौडेलले २०७६ वैशाखदेखि चैतसम्म सञ्चारमाध्याममा संप्रेषण भएका समाचार र समाचारमूलक सामग्रीमाथि अध्ययन गरी विश्लेषणात्मक प्रतिवेदन तयार पारेका थिए ।

समाजमा भइरहेका मानव बेचबिखन तथा ओसारपसार एवं मानव तस्करीका घटना र कारणहरुबारे जानकारी दिन, वैदेशिक रोजगारीका क्रममा हुने मानव बेचबिखन, यौन शोषण, श्रमशोषणको अवस्था र आयामहरुबारे जानकारी दिन, प्रभावितको जातीयता, लिंग, उमेर, स्थायी बसोबास मानव बेचबिखन तथा ओसारपसारको प्रकार र उदेश्यबारे जानकारी दिन प्रतिवेदन तयार पारिएको हो ।

सर्लाहीमा सबैभन्दा बढी बेचिएको भेटिएको छ भने आन्तरिक रुपमा हुने गरेको बेचबिखन ११ प्रतिशत छ । बेचिनुका कारणबारे अध्ययन गर्दा ४० प्रतिशत गरिबी र ३६ प्रतिशत रोजगारी र राम्रो आम्दानी हुने एजेन्टको फन्दामा परेको देखिएको छ । यसैगरी दलाल या अपराधीका प्रकारमा ४९ प्रतिशत म्यानपावर कम्पनी तथा एजेन्टबाट बेचिएका छन् भने मानव बेचबिखन तथा ओसारपसारको उद्देश्यमा ५५ प्रतिशत यौनशोषण नै रहेको देखिन्छ । अध्ययनले वैदेशिक रोजगारीलाई छुट्टै सूचकमा राखेर अध्ययन गरेको छ । जसअन्तर्गत २१७ वटा समाचार सम्प्रेषण भएका छन् । प्रतिवेदनमा निश्कर्ष र सुझाव पनि समेटिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ