५ महाअभियान सञ्चालन गर्न माओवादी केन्द्रका नेता शर्माको सुझाव

समाचार

5/30/2021

काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले पार्टीको सांगठनिक संरचना सुधारका लागि नेतृत्वलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता शर्माले पार्टीलाई सशक्त, सुदृढ र बलियो बनाउन ५ महाअभियान सन्चालन गर्न सुझाव दिएका हुन ।

समाजवादको लागि सर्वहारा पार्टी बुँदा अन्तर्गत उनले माक्र्सवाद, लेनिनवाद, माओवाद विचार धाराको आलोकमा पार्टीको सांगठनिक संरचना समानुपातिक समावेशी सिद्धान्तको आधारमा निर्माण गरिनुपर्ने सुझाव दिदै पार्टीको केन्द्रीय स्तरमा रहेको नौकरशाही प्रकृतिको तहगत संरचनालाई परिवर्तन गरी दुई तहको बनाउनु पर्ने र पोलिटब्युरो र स्थाई समिति खारेज गर्नुपर्ने माग उनको छ ।

पार्टीको सबै तहको सम्पूर्ण संरचना बर्गीय/जातीय/लैङ्गिक/दलित/मुस्लिमलगायत ५ समूहमा समावेशी समानुपातिक आधारमा गठन गरिनुपर्ने र यी ५ वटै समूहबाट ५०% महिला, २०%युवा, १५% दलित आ–आफ्नो समुदायको साथै मधेस–पहाडबाट सहभागी हुने गरि अनुपात मिलाउनु पर्ने नेता शर्माले विचार प्रकट गरेका छन् ।

एउटा व्यक्तिले पार्टी र सरकारको एक कार्यकारी पदमा दुई पटक भन्दा बढि बस्न नपाउने व्यवस्था गर्नुपर्ने, कालाबजारी, तस्करी, भ्रष्टाचार, लागुऔषधि सेवन र यौनजन्य क्रियाकलापमा बदनाम भएको लाई पार्टीबाट निष्कासन गरिनुपर्ने र ७० बर्ष उमेर नाघिसकेको व्यक्तिलाई प्रमुख कार्यकारी पदबाट मुक्त गरिनुपर्छ तथा उनीहलाई संरक्षणको रूपमा राखेर पार्टीको सहायक भूमिका दिनुपर्ने उनको सुझाव छ ।

एक परिवार एक युवा स्वरोजगार महाअभियानअन्तर्गत युवा, विद्यार्थी, महिला, मजदुर एवम् किसान संगठनले एकीकृत अभियान अन्तर्गत १८–४० बर्ष भित्रको उमेर समूहका १० लाख युवालाई संगठित गरिनुपर्ने सुझाव उल्लेख गर्दै ५ वर्षमा ५करोड विरूवा उत्पादन गरी स्कूल, क्याम्पस, अस्पताल, सार्वजनिक कार्यालय, धार्मिकस्थल, सडक किनार, नहर तथा एलानी पर्ति खाली जग्गा जमिनमा वृक्षारोपण गर्न उनको सुझाव छ ।

वर्दि बिनाको प्रहरी–नागरिकको प्यारो साथी महाअभियानअन्तर्गत नेता शर्माले पार्टीको पदाधिकारीको नेतृत्वमा सुशासनको लागि भ्रष्टाचार विरूद्धको अभियान सन्चालन गर्न र यसको सागंठनिक संरचना केन्द्र, प्रदेश र स्थानीय तह( ७५३) स्थानमा हुनुपर्ने उनको मत छ ।

यस्तै, सुशासनको लागि भ्रष्टाचार विरूद्धको अभियान नामक संस्था तीनै तहमा जिल्ला प्रशासन कार्यालयमा विधिवत विधान, नीति, योजना र कार्यक्रमसहित दर्ता गराउनु पर्ने, यो संगठनमा कम्युनिष्ट पार्टीको सदस्यता लिन नचाहने तर महाअभियानमा सहभागी हुन चाहने पत्रकार, नागरिक समाज, अवकाश प्राप्त राष्ट्र सेवक, युवा क्लब, सामाजिक– धार्मिक संघ संस्थाहरू तथा अरू पार्टीमा रहेर पनि अभियानमा सहभागी हुन चाहने व्यक्तिहरूलाई समावेश गर्र्नुपर्ने उनले सुझाव दिएका हुन् ।

घाइते अपाङ्गलाई गरौ सेवा, देउ सुविधा समान महाअभियानअन्तर्गत घाइते अपाङ्ग व्यक्तिलाई संघीय सरकारमार्फत् ज्येष्ठ नागरिक सरह न्युन्तम जीवनयापनको लागि पेन्सनको व्यवस्था गराउनु, तीन वटै तहमा घाइते अपाङ्ग परिवारबाट उसको योग्यता अनुसार कम्तीमा एक जनालाई प्राथमिकतामा राखेर रोजगारी दिने कानुन मै व्यवस्था, घाइते अपाङ्ग परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा निःशुल्क उपचार तथा घर नभएकालाई बासको लागि कानुन मै व्यवस्था गरी स्थानीय तहको जिम्मेवारी दिनुपर्ने नेता शर्माले सुझाव दिएका छन् ।

यसैगरी, सहिद परिवार–सबैको सरोकार महाअभियानअन्तर्गत शहिद परिवारका कम्तीमा एक जना सदस्यलाई उसको योग्यता अनुसार रोजगारी दिनुपर्ने, स्थानीय सरकारमार्फत् शहिद परिवारका बालबालिकालाई निःशुल्क एवम् गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्ने, शहिदका आमा बुवालाई जुनसुकै उमेरको भए पनि सम्मान स्वरूप ज्येष्ठ नागरिक सरह पेन्सनको व्यवस्था हुनुपर्ने र शहिद परिवारले व्यापार, व्यवसाय वा साना उद्योग गरी जीवनयापन गर्ने चाहेमा स्थानीय तहको सिफारिसमा ५लाख सम्मको ऋण बिना धितो सहुलियत ब्याज दरमा दिनुपर्ने पनि नेता शर्माको सुझाव रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ