भारतले चैत १८ गते रेल हस्तान्तरण गर्ने

समाचार

2/27/2020

काठमाडौं, १५ फागुन । भारत सरकारको सहयोगमा बनेको कुथा–जनकपुर–जयनगर रेल चैत १८ गते नेपाललाई हस्तान्तरण गरिने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल अहिले भारतको मद्रासमा बनिरहेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले चैतको १८ गते भारतीय रेल निर्माता कम्पनीले रेल नेपाललाई हस्तान्तरण गर्ने तय भएको जानकारी दिए ।

रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन् ।

महानिर्देशक मिश्रका अनुसार रेल नेपाल ल्याएको केही महिनापछि सञ्चालनमा ल्याइने छ । तर रेल कहिलेबाट चल्न सुरु हुने भन्ने तय नभएको उनले बताए ।

सरकारले गत वर्षको पुसबाट नै रेल चलाउने घोषणा गरेको थियो । अब भने सरकारले आगामी असार अगाडि नै जसरी पनि रेल चलाउन योजना बनाएको छ । उक्त खण्डमा रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो ।

अहिले जनकपुरसम्म चल्ने रेल महोत्तरीको विजलपुरासम्म चलाउने योजना रेल्वे विभागको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ