सिन्धुली, १८ साउन । प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले आइतबार सिन्धुलीगढी युद्ध संग्रहालय भ्रमण गरेका छन् । नेपाली इतिहासमा महत्वपूर्ण मानिएको गोखाली फौजले १८२४ सालमा अंग्रेज सैनिकमाथि गरेको जीतका झलकहरु देखाउन मिल्ने गरि युद्ध संग्रहालय सर्वसाधारणका लागि समेत खुल्ला भएको छ ।
संग्रहालय भ्रमण गर्ने क्रममा प्रदेश प्रमुख अहिराजले तत्कालिन समय अर्थात राजा पृथ्वीनारायण शाहको सेनामा समावेशिता देखिने गरि टुकडीहरू रहेको प्रष्ट पारे ।
उनले सेनामा मधेश, पहाड र हिमालका बासिन्दाको सहभागिता रहेकोले हरेक समूदाय राष्ट्रप्रति वफादार रहेको बताए । उनले अवलोकन भ्रमणको क्रममा संग्रहालयभित्र कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीलाई खादा र राष्ट्रिय झण्डा अंकित ब्याचले सम्मानित गरेका थिए ।

संग्रहालयभित्र तत्कालीन समयमा प्रयोग भएका हतियार, वाद्यवादन सामग्री, तस्विर, शिलालेखसहितका पूराना सामानहरु राखिनुका साथै पुस्तकालयको ब्यबस्था गरिएको छ ।
संग्रहालयबाहिर राजा पृथ्वीनारायणको शालिक, गोर्खाली नाइकेहरुको प्रतिमा, तोप, अकाशे पानी भण्डारण गर्ने प्राचिन शिलाहरु सजाइएका छन् । केही दिनभित्रै संग्रहालयमा युद्धसँग सम्बन्धित डकुमेन्ट्री देखाउने व्यवस्था समेत मिलाइनेछ ।
सिन्धुलीगढी युद्ध संग्रहालय भ्रमण गरेका प्रदेश प्रमुख एवं प्रदेश २ का संचारकर्मीहरूलाई नेपाली सेनाले आतिथ्य गरेका थिए ।

नेपाली सेनाले कमलामाई नगरपालिकाको सहकार्यमा ८ करोड रुपैयाको लागतमा तयार गरेको युद्ध संग्रहालय साउन १३ गते राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेपछि शनिवारदेखि सर्वसाधारणको खुल्ला गरिएको हो ।
नेपालीलाई ५०, विद्यार्थीलाई २५ तथा विदेशीलाई २०० रुपैया टिकट शुल्क तोकिएको छ ।
प्रदेश प्रमुख डा.अहिराज धनुषा र महोत्तरीका सञ्चारकर्मीसहितको एक टोलीसहित युद्ध संग्रहालय भ्रमण गरेका थिए ।


तपाईको प्रतिक्रिया