लुम्बिनी प्रदेश : विपक्षी चार दलद्वारा बहुमतको सरकार गठनको माग

समाचार

बुटवल, १८ साउन । लुम्बिनी प्रदेशका चार विपक्षी दलले बहुमतको सरकार गठनका लागि माग गरेका छन् । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले यस्तो माग गरेका छन् ।

संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि विपक्षी चार दलले आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् ।

सोमबार कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसीले संविधानको धारा १६८ (१) अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ