जनकपुरधाम, २१ साउन । अघिल्लो वर्षको तुलनामा प्रदेश २ मा गत आर्थिक वर्षमा आपराधिक घटना वृद्धि भएको देखिएको छ ।
प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले आर्थिक वर्ष २०७७÷७८ मा आपराधिक गतिविधिमा ४.४७ प्रतिशतले वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।
प्रदेशभर अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८९३ वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार २०१ घटना दर्ता भएका छन् ।
प्रदेशमा ज्यान मार्ने उद्योग, ज्यान सम्बन्धी विभिन्न मुद्दा, आत्महत्या संगठित तथा आर्थिक अपराध महिला तथा बालबालिका सम्बन्धी अपराधका घटनामा वृद्धि भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको भनाइ छ ।
कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका ८ वटै जिल्लामा निषेधाज्ञा लगाइएका कारण प्रहरीले भौतिक उपस्थितिमा गर्ने गरेका अपराध विरुद्धका सचेनामूलक कार्यक्रम गर्न नसकेको उनले बताए ।
प्रदेश २ मा गत आर्थिक वर्षमा कर्तव्य ज्यानका ९३, खुन डाँका २, ज्यान मार्ने उद्योग ३१०, गर्भपतनका ९, भवितव्य ज्यान ४६७, ज्यान सम्बन्धी १२८, फुटकर ज्यान ९०, आत्महत्याका ९५८, संगठित तथा आर्थिक अपराधका १ हजार ५४३ वटा घटना दर्ता भएका थिए ।
यस्तै सामाजिक अपराध १ हजार ८३२, महिला तथा बालबालिका सम्बन्धी अपराध ६१७, सवारी दुर्घटनाका ५३३ र अन्य विविध ६१८ वटा घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा विभिन्न आपराधिक गतिविधिमा संलग्न भई फरार रहेका ६८१ जना अभियुक्त र १ हजार ७२३ जना प्रतिवादी पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया