बाँध हटाउन भारतलाई पुनः आग्रह

समाचार

रौतहट, २१ साउन । रौतहट जिल्ला प्रशासनले दशगजामा एकपक्षीय रूपमा बनाएको बाँध हटाउन भारतीय पक्षलाई पुनः आग्रह गरेको छ ।

भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतीहारीमा भारतीय समकक्षीसँगको समन्वय बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोतीहारीका प्रमुख (डीएम) कपिल अशोकलाई बाँध हटाउन आग्रह गरेका हुन ।

रौतहटको ईशनाथ–१ बन्जाराहामा दशगजा अतिक्रमण गरी भारतीय पक्षले बाँध बनाएको छ । एक वर्षदेखि उक्त क्षेत्र खाली गर्न भारतले प्रतिबद्धता मात्र जनाउँदै आएको छ ।

बाँध निर्माणको विरोधपछि गत वैशाखमा दुवै मुलकका अधिकारीहरुको टोलीले जीपीएस माध्यमबाट सर्भे गरेको थियो । दशगजा मिचिएको पुष्टि भएपछि भारतले त्यतिबेला सार्ने भनेको थियो ।

बैठकमा बन्जाराहाको ३४७ नं सीमास्तम्भ मर्मत गर्न भारतीय पक्ष सकारात्मक देखिएको यादवले बताए ।

यस्तै, बाढी आउँदा सीमामा रहेको बाँधमुनिको गेट आवश्यकताअनुसार खोल्न, कोरोना व्यवस्थापनमा द्विपक्षीय सहयोग आदानप्रदान, अत्यावश्यक मेडिकल उपकरणलाई सहज रूपमा आयात गर्न पनि सहमति जुटेको उनले जानकारी दिए ।

यसअघि गत असार २६ मा सीतामाढीमा यस्तै बैठक बसेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ