जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पुनरावेदन गर्ने

समाचार

जनकपुरधाम, २७ साउन । जनकपुरकी आरती साहलाई श्रीमानले एसिड प्रहार गरेको घटनामा एसिड बिक्रेतालाई सफाइ दिएको धनुषा जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने भएको छ ।

सोमबार जिल्ला अदालत धनुषाले आफ्नी श्रीमती आरती साहमाथि एसिड प्रहार गर्ने जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहलाई दोषी ठहर गरे पनि बिनालाइसेन्स एसिड बेच्ने बिक्रेता नागेन्द्र साहलाई सफाइ दिने फैसला सुनाएको छ ।

मुख्य जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जिल्ला अदालतको यसै फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिने बताए । उनले सफाइ पाएकाको हकमा फैसला तयार भएर आएलगत्तै पुनरावेदन गरिने जनाए ।

मुख्य न्यायाधिवक्ता अर्यालले भने, ‘अहिलेको कसुर निर्धारण तथा सजाय ऐन २०७४ का अनुसार तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा पहिला कसुर ठहर गर्नुपर्छ । त्यसपछि सजाय निर्धारण गर्नुपर्ने भएकाले यो फैसला आएको हो ।’ उनले दोषी ठहर भएकाको हकमा आफूहरुको दाबी १५ वर्ष ६ महिना कैद नै हुनुपर्छ भन्ने रहेको जानकारी दिए ।

यता एसिड बेच्नेलाई सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउन अदालत पुगेकी आरती साहलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । गत कात्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ