वैदेशिक रोजगारीमा एजेन्टबाट ठगिएको भन्दै पीडितद्वारा न्यायका लागि अपिल

समाचार

राजविराज, २८ साउन । सप्तरीमा वैदेशिक रोजगारीमा एजेन्टबाट ठगिएका युवाहरूले न्यायका लागि अपिल गरेका छन् ।

रुपनी गाउँपालिका वडा नम्बर २ बस्ने एजेन्ट अशोक कुमार यादवले मोटो रकम लिएर भने अनुसारको काम नदिई अलपत्र पारेको भन्दै ठगिमा परेका युवाहरूले न्यायका लागि अपिल गरेका हुन् ।

राम्रो कम्पनी र काम लगाईदिने प्रलोभन देखाएर भने अनुसारको काम नदिएको ठगिमा परेका राजबिराजका युवा संजय दासले बताए । एक महिनासम्म दुबईमा काम नपाएर अलपत्र परेर जसोतसो घर फर्किए दासले भने, घर आको पनि एक बर्ष भयो तर एजेन्टले कुनै सुनुवाइ गरेन ।

यसैगरी दाससँगै वैदेशिक रोजगारीको शिलशिलामा दुबई गएका धिरेन्द्र कुमार दासले घरमा आएर बिदेश पठाउन लिएको पैसा माग्दा एजेन्ट यादवले आजभोलि गर्दै झुक्याउने गरेको बताए ।

उनले न्यायका लागि प्रहरी समक्ष उजुरी दिदा समेत आफ्नो पैसा नपाएको गुनासो गरे । आकर्षक तलव र रोजगारी दिन प्रलोभन देखाई लाखौं ठगी गर्ने एजेन्टबाट फिर्ताका लागि युवाहरूले अपिल गरे ।

एजेन्ट यादवले दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलवसहित प्याकिङको काममा लगाई दिने भन्दै २ लाख ४३ हजर ६ सय रुपैयाँ, बिष्णुपुर गाउँपालिकाका बेदानन्द यादवबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्र दाससँग १ लाख ४६ हजार रुपैयाँ लिएको पीडितहरुको आरोप छ ।

दुबई पुगेपछि एजेन्टले भनेअनुसारको काम नभएको र एक महिनासम्म कष्टपूर्ण जीवन बिताएर घर फर्किएको पीडितहरु बताउछन् । २०७५ पुस २५ गते आफुहरु घर फर्किएपछि एजेन्ट विरुद्ध प्रहरीमा उजुरी दिएको उनीहरुले जानकारी दिए ।

उनलाई प्रहरी एक दिन नियन्त्रणमा राखी छोडिएको उनीहरुले बताए । प्रहरी हिरासतमा रहेका एजेन्ट यादवले पीडितहरुले भने जति रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागज समेत गरिदिएका थिए ।

सोही शर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक हाल फरार भएको पीडितहरुको गुनासो छ । यस्तै पीडित वेदानन्दले प्रहरीमा जाँदा निजको खोजतलास भईरहेको जवाफ बाहेक केही पाउन नसकेको बताएका छन् ।

यता जिल्ला प्रशासन कार्यालयस्थित सुरक्षित आप्रवाशन परियोजनामा समेत लिखित जानकारी गराएको र त्यहाँबाट पनि आवश्यक पहल जारी रहेको जवाफ पाएको बताए ।

यसबारे इलाका प्रहरी रुपनीका सई अवधेश चौवेले जिल्लाबाट निज अशोक यादवलाई पक्रिन पक्राउ पुर्जी समेत जारी भइसकेको र उनको खोजतलास तीब्र बनाइएको जानकारी दिएका छन् ।

सीप र सूचना नलिई एजेन्टको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा गएका कारण जिल्लाका धेरै यूवाहरु ठगिने र विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।

यस्तै शंभुनाथ नगरपालिका वडा ६ बस्ने ऐजेन्ट छुतहरू मियाले पनि १२ जना सँग जनही २ लाख का दरले दुबईमा उठाएर राम्रो कम्पन्नी काम लगाईदिने पनि ठगी गरेको छ ।

एजेन्टबाट ठगिनेहरूमा शंभुनाथ नपा ५ का हरेकृष्ण साह, शंभुनाथ नपा ७ बस्ने मखबुल राईन, शंभुनाथ ७ बस्ने सिवराज चौधरी, वडा ७ बस्ने ईन्द्र नारायण चौधरी, वडा ७ बस्ने दिपक चौधरी, वडा ७ बस्ने सुरेश खंग र वडा ७ बस्ने पशुराम सदासहित १२ जनाबाट रकम उठाएर भिजिट भिसामा पठाएपनि भनेअनुसार काम नपाएपछि घर फर्किनु परेको छ ।

उनीहरूलाई ल्याउन सुरक्षित आप्रवान केन्द्रका निता चौधरीले घर ल्याउन पहल गरेको र एजेन्टबाट ठगिएको रकम फिर्ता गराउन पहल गरिरहेको भएपनि एजेन्टले नटेरेको बताईन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ