जनकपुरधाम, २८ साउन । प्रदेश २ का प्रदेशसभा सचिवालयका उपसचिव रञ्जीत यादवको तलब रोक्का गरिएको छ । संघीय संसद् सचिवालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निमित्त सचिव यादवको तलब रोक्न पत्राचार गरेको हो ।
यादव संघीय संसदमा कार्यरत रहँदा निजामती सेवाअन्तर्गत प्रदेश २ मा २०७५ चैत १२ गतेको निर्णयानुसार समायोजन भएर आएका थिए । त्यति बेला संघीय सचिवालयको नगद एवं जिन्सी बरबुझारथ नगरेको कारण तलब रोक्का राख्न निर्देशन दिइएको जनाइएको छ ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा उपसचिव यादवले रमनासमेत नलिई प्रदेशमा हाजिर भएको उल्लेख छ ।
पटक–पटक ताकेता गरे पनि अटेरी गरेको, पत्राचार गर्दा जवाफ नदिएको र सार्वजनिक सूचना प्रकाशन गर्दासमेत कुनै प्रतिक्रिया नदिएको पनि पत्रमा उल्लेख छ ।
वित्तीय उत्तरदायी ऐनानुसार उनको नाममा रहेको पेस्की फर्छयोट र जिन्सी बरबुझारथ नगरेसम्म तलब–भत्ता रोक्का राख्न संघीय सचिवालयको निर्णयानुसार अनुरोध गरिएको हो ।
यादवले संघीय संसद् सचिवालयबाट लिएको पेस्कीबापतको ५४ हजार ३०० रुपैयाँ नगद, एकथान मोटरसाइकल र एकथान ल्यापटपसहित विभिन्न जिन्सी सामानहरू हालसम्म नबुझाएको बुझिएको छ ।
यता, यादवले भने सुरुमा आफू काजमा खटिएको हुनाले बरबुझारथ गर्न नसकेको बताए ।
तपाईको प्रतिक्रिया