सडक नै नबनाई बजेट भुक्तानी

समाचार

सर्लाही, २८ साउन । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडकको काम नै नगरी बजेट भुक्तानी भएको छ । हिँड्नै नमिल्ने भइसकेको यो सडकमा यस वर्ष कागजी रूपमा श्रमदानसहित १६ लाख रुपैयाँभन्दा बढीको काम देखाएर भुक्तानी भएको हो ।

संघीय सांसद प्रमोद साहले आर्थिक वर्ष २०७७÷०७८ मा किसनपुरका स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाही पुलसम्म जीर्ण सडक स्तरोन्नतिका लागि योजना राखेका थिए ।

योजनाअनुरूप काम गर्न संघीय सरकारको निर्वाचन क्षेत्र विकास कोषबापतको १५ लाख रकमसमेत गाउँपालिकामा आयो ।

गाउँपालिकाले भने योजनाअनुसारको सडक स्तरोन्नति नगरी काम सकेको भनेर प्रतिवेदन तयार गर्दै भुक्तानीसमेत दिइसकेको छ ।

कागजी रूपमा निर्माण सम्पन्न देखाइएको यो सडकको उपभोक्ता समितिका अध्यक्षमा स्थानीय अरुण यादव चुनिएका थिए । उनले गाउँपालिकाबाट कार्यार्देश पाएकै सडकमा काम गरेको दाबी गरे ।

गाउँपालिकाका इन्जिनियर राकेश यादवले संसदीय कोषबाट आएको बजेटमा योजनाअनुसारको काम भएको बताए ।
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ