वीरगन्ज, २८ साउन । कोरोना महामारीको तेस्रो लहरको जोखिम बढिरहँदा वीरगन्जको नारायणी अस्पतालमा दाताको सहयोगमा अक्सिजन पाइपलाइन जडान भएको छ । विभिन्न दाताको सहयोगले सर्जरी, मेडिकल र प्याड्रेटिक वार्डमा पाइपलाइन जडान भएको हो ।
वीरगन्जको त्रिवेणी ग्रुपले आफ्नो तीनवटा कम्पनीको नामबाट २३ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमबाट उद्योग वाणिज्य संघ वीरगन्जको आर्थिक सहयोगमा निर्माण भएको २० बेडको बाल सघन चिकित्सा कक्षमा अक्सिजन पाइपलाइन जडान भएको छ ।
यसैगरी क्याल ग्रुपको २० लाख, नेपाल फर्मास्युटिकल्स कम्पनीको १७ लाख, सूर्य टोबाकोको १३ लाख रुपैयाँको सहयोगले सर्जरी, मेडिकललगायतको वार्डमा अक्सिजन पाइपलाइन जडान कार्य सम्पन्न भएको छ ।
अस्पतालको एचडीयू वार्डको पाइपलाइन मात्र सरकारको बजेटले जडान भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरेन्द्र प्रधानले बताए ।
अस्पतालले एउटा कोभिड डेडिकेटेड हस्पिटलसमेत निर्माण गर्दैछ । पर्सा क्षेत्र नं. २ का सांसद विमलप्रसाद श्रीवास्तवको संसदीय कोषअन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १ करोड ४७ लाख ९२ हजार रुपैयाँमा खरिद गरिएको अक्सिजन प्लान्ट अस्पतालमा जडान भइसकेको छ । उक्त प्लान्टबाट अक्सिजनसमेत उत्पादन भइरहेको छ ।
तपाईको प्रतिक्रिया