बाराको वन संरक्षक कर्मचारी देशभरमै उत्कृष्ट

समाचार

बारा, २८ साउन । डिभिजन वन कार्यालय बारामा कार्यरत जम्मदार धुव्रकुमार कटुवाल देशभरका वन कर्मचारीहरू मध्येबाट सर्वोत्कृष्ट कर्मचारी छनोट भएका छन् । देशभरबाट परेको निवेदनका आधारमा उत्कृष्ट कर्मचारी पुरस्कार बाराका कटुवालले पाएका हुन् ।

सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले १ लाख राशीको ‘गणेश बहादुर शाही’ राष्ट्रिय पुरस्कारबाट कटवाललाई सम्मानित गरेका हुन् ।

चोरीतस्करी नियन्त्रण र वन संरक्षणमा राम्रो काम गरेवापत उनले यो पुरस्कार पाएका हुन् । गत ४ वर्षदेखि बारामा कार्यरत कटुवालले आफू मातहतमा रहेका १० जना जम्मदार र २५ जना वन रक्षकलाई चोरी तस्करी नियन्त्रण र वन संरक्षणमा खटाउने गर्दछन् ।

लकडाउन अवधिमा चोरी तस्करी नियन्त्रण तथा अतिक्रमण भएको वनको जग्गा संरक्षण गरी सो क्षेत्रमा वृक्षरोपण गर्न उनको नेतृत्वले ठूलो भूमिका निर्वाह गरेको थियो । लकडाउनमा वनको जग्गा जोगाउन धेरै समस्या मुस्किल भएको कटवाल बताउँछन् ।

यस्तै देशभरका डिभिजन वन कार्यालयमध्ये बाराको वन कार्यालय उत्कृष्ट भएको छ । ७७ जिल्ला मध्येबाट बाराको वन कार्यालयको तर्फबाट वन अधिकृत प्रमुख मञ्जुर अहमद सम्मानित भएका हुन् । मन्त्रालय सचिव डा. प्रेम नारायण कँडेलले अहमदलाई सम्मानित गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ