वीरगञ्ज, ३१ साउन । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको वीरगन्ज महानगरपालिकाका विद्यालयमा भौतिकरुपमा पठन–पाठन आइतबारदेखि सञ्चालनमा आएको छ ।
आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको हो । पहिलो दिन ५० प्रतिशत विद्यार्थीलाई विद्यालयमा उपस्थित गराएर पठन–पाठन गराइएको हो ।
निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।
वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भनी सूचना जारी गरेको थियो ।
कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो । तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् ।
विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा गरिएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।
तपाईको प्रतिक्रिया