जनकपुरधाम, ३ भाद्र । प्रदेश २ प्रदेशसभाको कहिले बस्ने टुंगो लागेको छैन । पछिल्लो एक महिना यता बैठक बस्न सकेको छैन । यसअघि असारमा कोरोना महामारीको कारण प्रदेशसभा बैठक पटक पटक स्थगित भएको थियो ।
बजेट पारित गरेपछि प्रदेशसभा बैठक असार २९ गतेपछि छैटौं अधिवेशन समाप्त भएको थियो । अर्को अधिवेशन नबोलाउँदा विषयगत समितिका काम–कारबाही र १३ वटा विधेयक प्रदेशसभामा अलपत्र छ ।
प्रदेशसभाको कार्यकाल चार वर्ष बित्नै लाग्दा लेखा समितिको सभापतिसहित तीन विषयगत संसदीय समितिको सभापति चयन हुन सकेको छैन ।
प्रदेशसभा बैठक नियमित नहुँदा सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापति चयन हुन नसकेको हो ।
लेखा समिति सुरुदेखि नै नेतृत्वविहीन छ भने प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापति रहेका माओवादी केन्द्रले प्रदेश सांसद रामचन्द्र मण्डललाई कारबाही गरी निलम्बन गरेको र कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति रहेका नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंह महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेपछि ती सबै समितिहरु सभापतिविहीन बनेको हो ।
प्रदेशसभा बैठक बस्न नसक्नुको कारण प्रदेशका मन्त्री र सांसदहरु पार्टीको आन्तरिक विवादमा फसेको बताइएको छ । प्रायः सबै पार्टीबीच आन्तरिक विवादको देखिएको छ ।
प्रदेश सभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले प्रदेश सभामा १३ विधेयक दर्ता भएर प्रक्रियामा रहेको जानकारी दिए ।
जसमध्ये केही विधेयकमाथि छलफल सकिएको र केही छलफलकै क्रममा रहेको उनले बताए । यादवले सातौं अधिवेशन सुरु भएपछि १३ वटै विधेयक प्रदेश सभाबाट पारित हुने जनाए ।
तपाईको प्रतिक्रिया