वीरगञ्ज, ३ भाद्र । वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियारको हेटांैडास्थित कार्यालयबाट आएको टोलीले अस्पतालको फार्मेसीमा छापा मारेको हो ।
फार्मेसीमा भएको रकम हिनामिनाको उजुरीका आधारमा अख्तियारको टोलीले छापा मारेको हो ।
फार्मेसीमा भएको औषधिको रकम हिनामिना भएको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले अनुसन्धानका लागि फाइल संकलन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।
‘अस्पतालको फार्मेसीमा औषधि हिनामिनाको उजुरीका आधारमा टोलीले फाइल संकलनको गरेको छ,’ उनले भने ।
अस्पताल फार्मेसीमा रहेको औषधिको स्टक, म्याद गुज्रेको औषधिको विवरण, खरिद–बिक्रीसम्बन्धी फाइल नियन्त्रणमा लिएर छानबिन गरिने सापकोटाले बताए ।
नारायणी अस्पतालमा रहेको फार्मेसीमा सबै प्रकारका औषधि पाइने गरेको छैन । डाक्टरले लेखेकामध्ये आधाभन्दा बढी औषधि अस्पतालको फार्मेसीमा नपाइने गरेको तथा बाहिरबाटै किन्नुपर्ने अवस्था छ । चार वर्षअघि नारायणी अस्पतालले आफ्नै फार्मेसी खोलेको थियो ।
तपाईको प्रतिक्रिया