अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योग धराशायी बन्दै

समाचार

सर्लाही, ३ भाद्र । अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योगधन्दा धराशायी बन्दै गएका छन् । अनियमित विद्युत् कटौती हुँदा बिजुलीबाट सञ्चालन हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन् ।

केही समयदेखि पटक–पटक विद्युत् कटौती हुने समस्या बढेको छ ।

अनियमित विद्युत् कटौतीले प्रेस, कुटानपिसानी मिल, खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरु बढी प्रभावित भएका छन् ।

विद्युत् अनियमित हुँदा कुनै दिन दिनभर नै उद्योगधन्दा ठप्प हुने गरेको उद्योगीहरुले बताउँदै आइरहेका छन् ।

सर्लाही सदरमुकाम मलंगवास्थित एक प्लाइ उद्योगका सञ्चालक गजेन्द्र साह विद्युत अनियमित हुँदा उत्पादन लागत बढेको बताउँछन् ।

मलंगवासहित हरिवन, लालबन्दी, बरहथवालगायत प्रमुख व्यापारिक केन्द्रहरुमा रहेका उद्योगधन्दा मारमा परेका छन् । उद्योग वाणिज्य संघ लालबन्दीले अनियमित विद्युत कटौतीले उद्योगी व्यापारी मारमा परेको भन्दै केही दिनअघि नेपाल विद्युत् प्राधिकरण लालबन्दीमा ज्ञापनपत्र समेत बुझाउँदै ध्यानाकर्षण गराएको थियो ।

संघका अध्यक्ष कल्याण कुमार जोशीले बिजुलीको समस्याले लालबन्दी बजारका धरै उद्योग घण्टौं ठप्प हुने समस्या बढेको बताए ।

यता, नेपाल विुद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका इन्जिनियर संयोग विश्वकर्माले नवलपुरमा निर्माणाधीन ग्रिड सबस्टेशनको निर्माण पूरा भई सञ्चालन नहुन्जेल सर्लाहीको विद्युतमा यस्तै समस्या आउने बताए ।

उनले विद्युतका पुराना संरचनाले बढ्दो लोड थेग्न नसक्ने र पटक–पटक बत्ती जाने समस्या आइरहेको बताए । इन्जिनियर विश्वकर्माले अहिले गर्मीयाममा लोड धेरै हुने भएकाले बिजुली अनियमित भएको बताए ।

सर्लाहीमा अहिले रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको १३२/३३ केभी प्रशारणलाइन लालबन्दी, बरहथवा र मलंगवामा रहेको वितरण केन्द्रमार्फत वितरण हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ