वीरगञ्ज, ३ भाद्र । वीरगञ्ज महानगरपालिकाको केन्द्रमा रहेको बीपी उद्यानको सार्वजनिक जग्गा अन्य प्रयोजन नगर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ ।
उद्यान पार्कबाहेक प्रयोजनमा प्रयोग गर्न नपाइने भनी जग्गा खरिद गर्दा नै स्पष्ट उल्लेख भएकाले अन्य प्रयोजनमा प्रयोग नगर्न न्यायधीशहरु कृष्णबहादुर थापा र जनक पाण्डेको इजलाशले उक्त आदेश दिएको हो ।
तोकिएको प्रयोजबाहेक अन्य प्रयोजनका काम नगर्न भनी आदेश दिइएको निमित्त रजिष्ट्रार केशव प्रसाद पौडेलले बताए ।
जग्गा खरिद गर्दा नै त्यहाँ हुने प्रयोजन स्पष्ट उल्लेख भएको पाइएकाले तत्काललाई अन्तरिम आदेश मार्फत काम रोक्न भनिएको उनको भनाइ छ ।
उक्त जग्गामा वीरगञ्ज महानगरपालिले टेम्पोस्टेसन बनाइरहेको छ। त्यसविरुद्ध स्थानीय धीरज गुप्ताले गत असार २८ मा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा महानगरपालिका, नगरप्रमुख विजयकुमार सरावगी, प्रमुख प्रशासकीय अधिकृत तथा निर्माणको काम गर्दै गरेका पृथ्वीराज कानु कन्ष्ट्रक्शन र सागर जेवी कन्ष्ट्रक्शनलाई विपक्षी बनाई निवेदन दर्ता गराएका थिए ।
निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतको अस्थायी इजलासले विपक्षीका नाममा उक्त अन्तरिम आदेश गरेको हो ।
तपाईको प्रतिक्रिया